ChannelNp Logo

फिफा टिभी रिपोर्टमा नेपाली डकुमेन्ट्री ‘सुनाकली’ (भिडियोसहित)

प्रकाशित मिति : Monday, August 22nd, 2016 at 6:01 PM



मुगुकी किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली डकुमेण्ट्री सुनकलीले विश्व फुटबल महासंघ (फिफा)को टिभी रिपोर्टमा पनि स्थान पाएको छ । फिफा टिभीको टिम आफैं काठमाडौं आर्इ सुनकलीको कथालाई समेटेर विशेष रिपोर्ट तयार पारेको हो ।

आइतबार फिफा टिभीको युट्युब च्यानलमा ‘मिट द हिमालयन मेसी’ शीर्षकमा उक्त भिडियो रिपोर्ट अपलोड गरिएको छ । १२ मिनेट लामो भिडियो रिपोर्टमा नेपाली राष्ट्रिय पुरुष र महिला फुटबल टिमसँगै सुनकलीले पनि स्थान पाएको छ । सुनकलीबारे झण्डै पाँच मिनेटको रिर्पोताज गरिएको छ।

नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजी ग्योतोकु, राष्ट्रिय टिमका स्टाइकर नवयुग श्रेष्ठ र राष्ट्रिय महिला टिमकी कप्तान अनु लामालाई समेटिएको छ ।

उक्त रिपोर्टमा १८ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको सुनकली डकुमेण्ट्रीका विभिन्न दृश्यहरु देखाइएको छ । ललितपुरको सेण्ट जेभियर्सका स्कुले बालवालिकाहरु उत्साहपूर्वक ‘सुनकली’ हेरिरहेको दृश्यलाई समेत महत्वका साथ फिफा टिभीले आफ्नो रिपोर्टमा राखेको छ ।

डकुमेण्ट्रीका निर्देशक भोजराज भाटले पनि फिफा टिभीलाई प्रतिक्रिया दिएका छन् । ‘नेपालमा देखिने र नदेखिने दुई नेपाल छन्,’ भाटले फिफा टिभीसँग भनेका छन्, ‘म फोटोग्राफी उद्धेश्यका साथ मुगु गएको थिएँ । त्यतिबेला ३ हजार ५ मिटर उच्च ठाउँमा कुनै फिल्ड बिना फुटबल खेलिरहेको देखे ।’ उनले आफूले त्यो राम्रो कथा हुन सक्छ भन्ने लागेको बताउँदैं मुगुका किशोरीहरुको फुटबल प्यासनमाथि सुनकली डकुमेण्टी बनाएको पृष्ठभूमि बताएका छन् ।

८० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा सहभागिता जनाइसकेको ‘सुनकली’ नेपालकै सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने डकुमेण्ट्री हो । डकुमेन्ट्रीका तीन जना पात्रहरु यतिखेर काठमाडौंमा पूर्ण आवासीय छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।

यसअघि फिफा टिभीले नेपाली फुटबलमाथि ‘नेपाल फुटबल स्टार्स किप डिम्स अलाइभ’ शीर्षकमा एक भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । जसमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङ र राष्ट्रिय टिमका मिडफिल्डर राजु तामाङलाई फिचर गरिएको थियो।

Loading...