ChannelNp Logo

अदुवा निर्यातमा पुनः भारतीय तगारो

प्रकाशित मिति : Saturday, November 26th, 2016 at 11:50 AM



garlic-supply

काठमाडौ, मंसिर ११ । भारतले फेरी वहाना झिकेर दुई महिनादेखि अदुवा निर्यातमा रोक लगाएको छ । यसपटक भने भारतले आयातकर्ताले बिहारस्थित पटनाको स्थानीय भन्सार कार्यालयबाट आयातअघि नै पूर्व स्वीकृती लिनुपर्ने र त्यसको आठ प्रतिशत राजस्व अग्रिम बुझाउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएका कारण नेपाली अदुवा निर्यातको बाटो अवरुद्ध भएको हो ।

गत भदौमा भारत सरकारले नेपालबाट निर्यात हुने चाइनिज अदुवामा अल्दिकार्व (एएलडीआईसीएआरबी) भन्ने विषादीको अवशेष भेटिएको भन्दै लामो समयसम्म नेपाली अदुवाको निर्यातमा रोक लगाएको थियो ।

त्यसपछि नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघको पहलमा भारतको वैंगलोरस्थित खाद्य प्रयोगशालाबाट नेपालमै उत्पादन भएको अदुवाको नमूना परीक्षण गराइएको थियो । परीक्षणका क्रममा नेपाली अदुवामा विषादी नभेटिएपछि भारतले काँकडभिट्टाको पानीटंकी नाकाबाट पुनः अदुवा निर्यातका लागि बाटो खुला गरेको थियो ।

त्यही समयमा भारतको दिल्लीमा सम्पन्न नेपाल भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि विकास मन्त्रालयले भारतले बिनाकारण नेपाली अदुवाको निर्यातमा अवरोध सिर्जना गरेको भन्दै आफ्नो समस्या राखेको थियो । भारतीय समकक्षीले तत्कालै समस्या समाधान गरी निर्यातको बाटो खुला गरेको थियो ।

‘भारतले अदुवा निकासी सहज बनाएको केही साता नबित्दै फेरी अर्को वहानामा दुई महिनादेखि निर्यातको बाटो अवरुद्ध गर्‍यो’, संघका अध्यक्ष नहेन्द्रकुमार खड्काले भने, ‘असोज अन्तिम सातादेखि नेपालको अदुवा कुनै पनि नाकाबाट भारत निर्यात हुन सकेको छैन ।’

संघका सचिव हेमन्तराज बोहराका अनुसार पछिल्लो पटक भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाले भारतीय आयातकर्ताले नेपालबाट अदुवा आयात गर्नुपूर्व नै आयात गर्ने परिमाण घोषणा गरी परिमाणको मूल्यको आधारमा आठ प्रतिशत राजस्व बिहारको पटनास्थित भन्सार कार्यालयमा बुझाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

‘पूर्व घोषणा नगरी तथा आयात पूर्व नै घोषणा अनुसारको परिमाणको आठ प्रतिशत राजस्व नबुझाएको खन्डमा नेपाली अदुवा आयात गर्न नपाउने व्यवस्था गरेका कारण नेपाली अदुवा निर्यात हुन सकेको छैन’, बोहराले भने, ‘भारत सरकारको यो प्रावधानका कारण अहिले भारतीय अदुवा आयातकर्ता नै बिच्किए ।

उनीहरू बिच्किएका कारण नेपाली अदुवाको निर्यात हुन सकेको छैन ।’ उनका अनुसार पछिल्लो पटकको समस्याको बारेमा वाणिज्य तथा कृषि विकास मन्त्रालयलाई जानकारी गराइए पनि ती दुवै मन्त्रालयले हालसम्म कुनै चासो देखाएका छैनन् ।

पटनाको स्थानीय भन्सार कार्यालयबाट आयातअघि नै पूर्व स्वीकृती लिनुपर्ने र त्यसको आठ प्रतिशत राजस्व अग्रिम बुझाउनु पर्ने व्यवस्था कार्यान्वयनमा ल्याएका कारण नेपाली अदुवा निर्यातको बाटो अवरुद्ध भएको हो ।

उनका अनुसार अदुवाको रोगब्याधी र विषादीसम्बन्धी परीक्षण (पीएफए टेस्ट) गराएको आधारमा मात्रै भारतमा अदुवा निर्यात गर्न पाउने भारतीय सरकारको नियम छ । उक्त प्रक्रिया पनि निक्कै झन्झटिलो र खर्चिलो भएकाले निर्यात गर्न थप समस्या सिर्जना भएको अदुवा किसानको भनाइ छ । बोहोराले नेपालमा त्यस्ता प्रकारका परीक्षण गर्ने प्रयोगशाला निर्माण नहुँदासम्म नेपालकै प्लान्ट क्वारेन्टाइन कार्यालयले जारी गर्ने प्रमाणपत्रको आधारलाई भारतीय पक्षले पनि मान्यता दिनुपर्ने औल्याए ।

भारतले निर्यात गर्ने बाटो अवरुद्ध गर्दा गत असोज अन्तिम सातादेखि वीरगन्ज, भैरहवा, नेपालगन्ज र काँकडभिट्टा नाकाबाट अदुवाको निर्यात हुन सकेको छैन । जसले गर्दा खेतसहित किसानको घरमा अहिले १२ अर्ब २५ करोड मूल्यबराबरको तीन लाख ५० हजार मेट्रिक टन अदुवा थन्किएको छ ।
किसानले ३५ रुपैयाँ प्रतिकिलोमा निर्यातकर्तालाई अदुवा बिक्री गर्दै आएका छन् । कात्तिक अन्तिम सातादेखि खेतबाट नयाँ अदुवा निकालेर बिक्रीका लागि बजार पठाउने काम सुरु हुन्छ । खेतबाट उखेलिएका अदुवा समयमै निर्यात गर्न नसके सुकेर अदुवाको तौल घट्ने क्रम सुरु हुन्छ । ‘तौल घटेपछि किसानले थप घाटा व्यहोर्नुपर्ने हुन्छ’, उनले भने ।

नेपालमा उत्पादन हुने अदुवा खेतबाट उखेलेर सिधैं भारत निर्यात गरिन्छ । करिब ९५ प्रतिशत अदुवा भारत निर्यात हुन्छ । नेपालमा चार लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको छ । काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी (कुल उत्पादनको झन्डै ५५ प्रतिशत)को हाराहारीमा काँकडभिट्टा नाकाबाट नेपाली अदुवा कोलकात्ता निर्यात हुँदै आएको छ ।

भारत पुगेको अदुवाको मेसिनद्वारा काटछाट, ग्रेडिङ र सफाइ गरी विभिन्न ब्रान्डमा आन्तरिक खपत गर्दै पाकिस्तान, बंगलादेश, जापान, जर्मनी, श्रीलंका, यूएई र यूकेलगायतका मुलुकमा निर्यात गर्दै आएको छ । नेपालबाट स्वतन्त्र रूपमा पनि यस्ता मुलुकमा अदुवा निर्यात हुँदै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले जनाएको छ ।

नेपालमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा, मकवानपुर, झापा, नवलपरासी, धादिङ, नुवाकोट, रसुवा, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, सल्यान र कैलालीलगायतका जिल्लाको २३ हजार आठ सय २६ हेक्टरमा अदुवाको खेती हुन्छ । – अन्नपूर्णपोष्टबाट ।

loading...
Loading...