ChannelNp Logo

जसले गाईपालनबाटै महिनामा कमाउँछन लाखाैं रूपैयाँ

प्रकाशित मिति : Thursday, December 15th, 2016 at 6:14 AM



img_2107
पोखरा : सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बन्नुभएको छ।

पालुङटार नगरपालिका-३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आउनुभएका उहाँले एक वर्षको अवधिमा केन्द्रको अवलोकन गर्न आएका चार सयवटा समूहबाट टिकट काटेबापत रु चार लाख अतिरिक्त आम्दानी गर्नुभएको छ।

समूहगत रुपमा अवलोकन गर्न आउनेबाट रु एक हजार शुल्क लिने गर्नुभएको छ। “अवलोकन गर्न कृषि सहकारीबाट बढी मात्रामा आउने गरेका छन्,” पाण्डेले भन्नुभयो। गाईपालन केन्द्रमा अघिल्लो वर्ष अवलोकन गर्न दुई हजार ५०० जना आएका थिए।

दूध बिक्रीबाट भन्दा अवलोकन गर्नआएकाहरुबाट प्राप्त आम्दानीबाट बढी सन्तुष्टि मिलेको उहाँको भनाइ छ। विसं २०५२ मा सातवटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गर्नुभएका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन्। उहाँको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन्।

“दैनिक तीन हजार ५०० लिटर दूध उत्पादन हुन्छ, मासिक करिब रु १८ लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो। केन्द्रमा हाल २० जना स्थायी तथा १० जना ज्यालादारीका कर्मचारी रहेका छन्। उहाँले चिस्यान केन्द्र समेत स्थापना गर्नुभएको छ। हालसम्म उहाँले रु ६ करोड लगानी गरिसक्नुभएको छ। उहाँले ४०० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस उत्पादन गरिरहनुभएको छ।

Loading...
loading...