ChannelNp Logo

मौरी पालनबाटै बार्षिक ७ लाख कमाई

प्रकाशित मिति : Thursday, December 15th, 2016 at 2:12 PM



honey-bee

म्याग्दी, मंसिर ३० – विदेशको कमाइबाट सन्तुष्ट हुन नसकेपछि म्याग्दीको कुहुँ–३ का गोविन्दबहादुर खत्रीले गाउँमै मौरीपालन सुरु गर्नुभयो ।साउदी अरेबियामा पाँच र इराकमा सात गरी १२ वर्ष विदेशमा पसिना बगाउँदा खत्रीले भनेजस्तो कमाई गर्न सक्नुभएन । त्यसपछि उहाँ गाउँ फर्किएर व्यवसाय सुरु गर्नुभएको हो ।

यही व्यवसायबाट उहाँले अहिले वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ । उहाँ अहिले जिल्लाको सफल युवा व्यवसायीको रुपमा चिनिनु भएको छ ।‘स्वदेशमा रोजगारीको अभाव, साथीभाइको देखासिकी र विदेशमा राम्रो कमाई हुने लोभले विदेश लागियो’, खत्रीले भन्नुभयो, ‘तर, त्यहाँको कमाई बर्खे भेलजस्तै हो भन्ने थाहा पाएपछि गाउँमै फर्केर व्यवसाय सुरु गरें ।’

चार वर्षअघि ९ हजार रुपैयाँ लगानी गरी मौरीपालन थाल्दा खत्रीसँग जम्मा ३ घारमात्रै मौरी थिए । तर, अहिले उहाँसँग ९२ घार मौरी छन् । गएको वर्षमात्रै मौरीसहित ९४घार बिक्री गर्दा खर्च कटाएर सात लाख रुपैयाँ आम्दानी गरेको उहाँले सुनाउनुभयो । आउँदो जेठ महिनासम्म दुई सयवटा मौरीसहितका घार बिक्री गर्ने लक्ष्य राखेको उहाँको भनाई छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीबाट अनुदानमा घार तथा तालिमको सहयोग पाएको किसान खत्रीले जानकारी दिनुभयो ।

उहाँले गाउँमै मौरीसँगैको एउटा घार सात हजार र घार मात्रै तीन हजार पाँच सय रुपैयाँमा बिक्री गर्ने गर्नुभएको छ । एउटा घारबाट थप ४ घारसम्म मौरी उत्पादन हुन्छ । उहाँले मह किलोको १ हजार ३ सय रुपैयाँका दरले बिक्री गरेको बताउनुभयो । महभन्दा पनि मौरी बिक्री गर्दा धेरै फाइदा हुने खत्री बताउनुहुन्छ । हरेक वर्षको असोज १५ देखि मंसिर १५ र फागनुदेखि जेठ महिनासम्म विशेष गरी मौरीको हेरचाहमा समय बिताउने गरेको उहाँले बताउनुभयो ।

अहिले उहाँको घरमा ८० वटा आधुनिक र १२ वटा मुढे घारमा मौरी छन् । कुहुँ, भकिम्ली र राखुभगवती गाउँका व्यवसायीलाई मौरी र घार बिक्री गर्नुभएका खत्रीले मह बिक्री र मौरीघारका लागि बजारको समस्या नरहेको बताउनुभयो । ग्राहक घरमै आउने गरेको सुनाउँदै उहाँले उत्पादन गर्न सके बिक्री सहजै हुने बताउनुभयो । सफलतापूर्वक व्यावसायिक मौरीपालन गरी कृषि क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै यसवर्ष कृषि कार्यालयले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारसहित नगद १० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेको किसान खत्रीले बताउनुभयो ।

उहाँले गाउँमा मौरीपालनबारे अरुलाई प्रशिक्षण दिने र सीप सिकाउने काम पनि गर्दै आउनुभएको छ । स्वदेशमा केही पनि काम पाइएन भन्दै बर्सेनी विदेशिने युवाका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । विदेशमा पुगेर अर्काको देशमा पसिना बगाउनुभन्दा यहीँ केही व्यवसाय गर्ने हो भने विदेशको कमाई आफ्नै गाउँघरमा गर्न सकिने खत्री बताउहुन्छ ।

-उज्यालो

Loading...

loading...