ChannelNp Logo

कुनै बेला उपनिवेशमा राखेको बेलायतलाई उछिन्दै, छैटौँ ठूलो बन्यो भारतीय अर्थतन्त्र

प्रकाशित मिति : Thursday, December 22nd, 2016 at 6:11 AM



img_2619

काठमाडौँ, ७ पुस – कुनै बेला आफूलाई उपनिवेशमा राखेको बेलायतलाई उछिन्दै भारत विश्वकै छैटौँ ठूलो अर्थतन्त्र भएको देश बन्न सफल भएको छ। ब्रेक्जिटपछि त्यहाँको मुद्रा पाउन्ड स्टर्लिङ गिरावट आउँदा भारतले उछिन्न सफल भएको हो। भारतले सन् १९९१ मा आर्थिक उदारीकरणको नीति लिएपछि उसको अर्थतन्त्र तीब्र गतिमा फैलिरहेको अवस्थामा बेलायतलाई पछि पार्न सफल भएको हो।

१५० वर्षमा पहिलो पटक भारतले बेलायती अर्थतन्त्रलाई पछि पारेको हो। भारतले घरेलु उत्पादनलाई तीब्र गतिमा बढावा दिएपछि उसको अर्थतन्त्र अझ फैलिइरहेको थियो। भारतको यो फड्कोपछि उसको हैसियत विश्वमा छैटौँ ठूलो भएको हो। भारतले कुनै बेलाको औपनिवेशिक गुरुलाई उछिन्दै अमेरिका, चीन, जापान, फ्रान्स र जर्मनीपछि छैटौँ स्थानमा आएको हो। रोचक कुरा के भने युरोपियन युनियनबाट बाहिरिने निर्णयसँग बेलायतको अर्थतन्त्र खुम्चिन थालेको थियो।

ब्रेक्जिटसँगै बेलायको अर्थतन्त्र फ्रान्सको भन्दा पनि तल झरेपछि अहिले भारतले पनि उछिन्न सफल भएको हो। गत अक्टोबरमा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक वर्षको अन्त्यसम्म भारतको अर्थतन्त्रले बेलायती अर्थतन्त्रलाई उछिन्ने भविष्यवाणी गरेको थियो । “भारत सातौँ ठूलो अर्थात २.२९ ट्रिलियन डलरको अर्थतन्त्र भएको मुलुक हो’, मुद्रा कोषले भनेको थियो, ’बेलायतसँग केबल ५० अर्ब डलरको मात्रै अन्तर रहेको छ । यो पनि चालू आर्थिक वर्षको अन्त्यमा पुरा भएर भारतले बेलायतलाई उछिन्ने छ।’

ब्रेक्जिटपछि पाउन्डको मूल्य घट्दा खुम्चेको बेलायतको अर्थतन्त्र २.२९ ट्रिलियनमा सीमित भएको छ भने भारतको अर्थतन्त्र २.३० ट्रिलियन डलरको भएको छ । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले अन्तरराष्ट्रिय मुद्राकोषलाई उधृत गर्दै लेखेको समाचार अनुसार मालसामानको मूल्यमा आएको विश्वव्यापी गिरावट तथा अनुमान गरिए भन्दा कम मुद्रास्फितिले भारतीय अर्थतन्त्रले तीब्र गतिमा फैलिन पाएको थियो।

भारत र चीन पछिल्ला वर्षमा तीब्ररुपमा अर्थव्यवस्था फैलने मुलुकमा थिए। चीनले अमेरिकाको अर्थव्यवस्थालाई केही वर्षमै उछिन्न आकलन गरिएका बेला भारतले यसै वर्ष बेलायतलाई उछिनेको हो। बेलायती अर्थतन्त्रलाई उछिनेको भारतीय अर्थव्यवस्थाको आकार सन् २०१९ सम्ममा जर्मनीको अर्थव्यवस्था जत्रै हुने अनुमान पनि मुद्रा कोषले गरेको छ। सन् २०१९ मै भारतले जर्मनीको अर्थतन्त्रलाई उछिन्ने पनि अनुमान उसले गरिसकेको छ।

विश्व अर्थव्यवस्थामा अमेरिका अहिले पनि पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा रहेको चीनले उसलाई टक्कर दिइरहेको छ । तेस्रो नम्बरमा अमेरिकाको आर्थिक साझेदार राष्ट्र जापान रहेको छ। फोर्ब्सले सन् २०२० सम्ममा भारतको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशत रहने जनाएको छ । तर बेलायतको आर्थिक वृद्धि १ देखि २ प्रतिशतमै सीमित रहने भएको छ।

फोर्ब्सले भनेको छ, ’यो नाटकीय बदलाव पछिल्लो २५ वर्षमा भारतको तीब्र आर्थिक वृद्धि र पछिल्लो १२ महिनादेखि बेलायती पाउन्डको मूल्यमा तीब्र गिरावटका कारण सम्भव भएको हो ।’ मुद्रा कोषको रिपोर्टलाई आधार मान्दै सन् २०२० सम्ममा भारतको अर्थव्यवस्था बेलायको भन्दा धेरै हुने अनुमान गरेको थियो। तर पछिल्लो १२ महिनामा पाउन्डको मूल्य २० प्रतिशत भन्दा धेरै घट्दा भारतले यो मौका पाएको हो।

यसअघि भारतले बेलायती अर्थतन्त्रलाई सन् २०२० मा उछिन्ने अनुमान गरिएको थियो । तर, ब्रेक्जिटका कारण पाउन्ड आएको भारी गिरावटले बेलायती अर्थतन्त्र खुम्चिँदा भारतले चार वर्षअगावै बेलायतलाई उछिनेको हो।- एजेन्सी/डीसीनेपाल

Loading...
loading...