ChannelNp Logo

अंग्रेजको ढिपी

प्रकाशित मिति : Saturday, January 7th, 2017 at 1:58 PM



नेपालमा अंग्रेजको तलब खाने गरी गोर्खा पल्टन राख्ने प्रस्ताव आउँदा जंगबहादुरले जस्तै चन्द्रशमशेरले पनि यो त देशै बेचे जस्तो हुन्छ भन्दै साफ इन्कार गरिदिएका थिए।

ब्रिटिश इण्डियाका परराष्ट्र सचिवले नेपालका महाराज चन्द्रशमशेरसँग लामो परिसंवाद गरेका थिए। प्रथम विश्वयुद्धमा ब्रिटिशलाई ठूलो धनराशी र जनशक्तिको सहायता गरेका चन्द्रशमशेरले अघि जंगबहादुरले नयाँ मुलुक पाए जस्तै चाहेको जमीन फिर्ता पाउँला भन्ने आशाभरोसा राखेका थिए। त्यसैले पनि उनले विश्वयुद्धमा ब्रिटिशलाई मन फुकाएर सहायता दिएका थिए।

उनले आफ्ना छोरा–भतिजाहरू बबरशमशेर, केशरशमशेर र पद्मशमशेरको नेतृत्वमा करीब सत्र हजार तालिमी नेपाली पल्टन पठाएका थिए। त्यस अतिरिक्त ब्रिटिश सरकारले चाहेजति शूरवीर रङ्गरुट भर्ना गर्न पनि खुला छूट दिएका थिए। आफ्नो ढुकुटीको नगद पनि दश लाख पाउण्ड जति दिएका थिए।

नेपालीले यस विश्वयुद्धमा गोर्खाली शौर्य प्रकट गरे, शानमान पनि राखे। नेपाली धेरै तालीमप्राप्त सैनिक खेत रहे, नयाँ भर्ना भएका रङ्गरुटहरू पनि धेरै खेर गए।

यसरी अर्काको लागि लडिएको यस महायुद्धमा नेपालको असंख्य जन क्षय, धन व्यय भयो। चन्द्रशमशेरले मानपदवी पाए, प्रतिवर्ष दश हजार नगद रुपैयाँ पनि पाउने भए, तर चाहेजस्तो प्रतिफल भएन।

उल्टो, ब्रिटिशले परराष्ट्र सचिवमार्फत एक अर्को प्रस्ताव राख्यो– ब्रिटिश पल्टनलाई चार भाग गर्ने र पाँच वर्ष काम गरेकालाई महीनाको ६ रुपैयाँ तलब दिने। त्यो प्रस्ताव सुन्नासाथ चन्द्रशमशेरले ठाडै अस्वीकार गरे।

उनको भनाइ थियो, “अहिले पल्टन भर्ना गर्न मानिस नै पाउन छोडिसके, फेरि काम नगरी घर बसी–बसी तलब खान पाइन्छ भने नोकरी गर्ने को मान्छे पाइन्छ! तपाईं भन्नुहुन्छ, देशमा धन आउँछ, आय वृद्धि हुन्छ, देशको इज्जतको लागि त्यस्तो नाफा–नोक्सानको केही महत्व हुँदैन।”

यसमा ब्रिटिश सचिव अझ् ढिपी गर्दै जोड लाउथे, ‘होइन, तपाईंका सैनिकहरू तालीम लिन इण्डिया वा कुनै केन्द्रमा जानुपर्दैन, हाम्रा तालीमप्राप्त अफिसरहरू यहीं आएर तालीम दिनेछन्’ भन्दै।

यसमा चन्द्रशमशेरको प्रत्युत्तर थियो, “यसरी अंग्रेजको तलब खाएका अंग्रेज अफिसरले तालीम दिएका पल्टन यहाँ राख्ने हो भने तपाईंकै देश जस्तो यो भइगयो। देशै बेचे जस्तो भएन र?

कथंकदाचित तपाईंका अफिसरलाई हाम्रो मान्छेले मारिदिए भने अरू देशमा जस्तो युद्ध पनि हुन सक्छ। नेपाललाई यस्तो खतरामा पार्न सकिंदैन। तपाईंहरूको मन सधैं राम्रो बुझिएन, यस्तो कुरो उताबाट उठेर आयो भने म लेखेरै जोडदार प्रतिवाद गर्नेछु, हेक्का रहोस्।”

अघि जंगबहादुरले पनि अंग्रेजलाई यस्तो जवाफ दिएका थिए, रिकुट भर्ना माग्दा। उनले अंग्रेज रेजिमेन्टमा गोर्खालाई रिकुट भर्ना गर्न देऊ भन्दा हाम्रा मान्छे तपाईंहरूलाई वापवैरी ठान्छन्, केही जानी तपाईंका अफिसरलाई हाम्रो सिपाहीले मारिदिए भने त्यसको जवाफदेही मेरो हुन्छ, त्यसकारण गोर्खा रेजिमेन्टमा नेपाली रिकुट भर्ना हुन दिन मिल्दैन भने, दिएनन् पनि।

पछि पञ्चायतकालमा पनि पश्चिमा राष्ट्रहरूले नेपालमा (उतैको तलब खाने एकलाख गोर्खाली रिजर्भ पल्टन राख्ने प्रस्ताव गरेका थिए। राजाबाट साफै इन्कार हुँदा यो कुरा प्रकाशमै आएन।)

अहिले चन्द्रशमशेरले कर्णेल हाल्याण्डलाई रिकुट भर्ना गर्दा छानेर वीर लडाका जातका मानिस छान्नुपर्छ र मात्रै गोर्खाको इज्जत रहन्छ, तर तपाईंहरू जथाभावी मान्छे भर्ना गर्नुहुन्छ, दलित जातका मान्छे पनि खुसखुस लिनुहुन्छ।

अब त रिकुट भर्ना हुने मान्छे पनि पाइनछोडे। महायुद्धले मानिस सखाप पारिदियो, व्यवहार गर्न गाह्रो भो। ९/१० रुपैयाँ नभई भर्ना हुन मान्दैनन्। मालताल सबै महँगो भयो, विश्वयुद्धले विश्वमै दुष्प्रभाव फैलियो आदि भने।

श्री ३ महाराज चन्द्रशमशेर र ब्रिटिश इण्डियाका परराष्ट्र सचिव कर्णेल हाल्याण्डबीच भएको संवाद:

क. हाल्याण्ड– एउटा कुरा तपाईसँग गर्नुछ. हाल बृटिश इंडियन आर्मीमा केही रिफर्म गर्न तजविज भै रहेछ. अहिले ठेगाना भैसकेको ता छैन. सर तजविज के हुन लागेको छ भंने इंडियन आर्मी चार हिस्सा गरी तिनवटा याक्टिभ एउटा रिजर्भ गरी राख्ने. याकटिभ पट्टी ५ वर्ष नोकरी गरेपछि रिजर्भमा राख्ने. रिजर्भमा दुई फ्याकगराई पहिला फ्याकलाई ५ वर्ष सम्म ६ रुपैया महिनाको तलब दिने. दोस्रा ०५ वर्षलाई ४ रुपैया महिनावारी दिने रिजर्भिष्ट राख्ने अंजाम हुन लागेछ.

श्री ३– यो कुरा म मंजुर गर्न सक्तिन. अहिल्यै पनि मानीस नपाई हाम्रो पल्टनमा भर्ना राख्न कठिन भै सकेको छ. यांहा मुलुकमा नयां ईहरूले रिजरभिष्ट राखी महिनाको ४।६ रुपैया घर बसी खान दिनुभयो भने हाम्रो काममा तलबको नोकरीमा मानिस कसरी पाइएला. अहिल्यै पनि पल्टनको तलब बढाई दिनु परीसक्यो.

क. हाल्याण्ड– यसबाट रुपैया मुलुकमा आउने हुन्छ.

श्री ३– त्यो फाइदा नोक्सानको सामने केही छैन भने पनि हुन्छ.

क. हाल्याण्ड– रिजर्भिष्ट तालिम गर्नालाई पनि ती मानिसहरू गोरखपुरमा वा अरु ठाउँमा गै रहनु नपर्ने गरी यही मुलुक भित्रै ठाउठाउ सेंटर गरी तही बृटिस अफिसरहरू आई तालिम गर्ने गरे सुविस्ता हुने देखिन्छ.

श्री ३– तेस्तो कुरा कहिल्यै मंजुर होइसक्तैन. त्यस्तो कुरा मंजुर गर्नु ता मुलुक बेचेजत्तिकै हुन जानेछ. मानिसहरूले पनि त्यस्तो ख्याल मिलेछन्. फेरि अर्को कुरा बृटिश अफिसर नेपालमा आई काम गर्न लागेमा कसैले मारीदियो भने चीन इत्यादि ठाउको दृष्टान्त देखी हालियेकै छ. सरकारलाई जवाफदेही गराउने छन्. त्यसैबाट लडाइसम्म हुन जानु पनि बेर लाग्ने छैन. देखादेखी आफ्नो मुलुकलाई त्यस्तोमा पार्न म सक्तिन. त्यसबाट तपाईहरूको खराब (मनसाय) रहेछ भंन्या समझ हाम्रो मानिसको मनमा नपरी छाड्ने छैन. मेरो यो राय साफसाफ तपाईलाई भनेको छु. यसको ख्याल रहोस्. सो ख्याल राखी तपाईहरूको यसमा केही भन्नु छ भने लेखी पठाउनुहोस् म लिखतैबाट जवाव दिउला.

क. हाल्याण्ड– हुन्छ.

श्री ३– तपाईहरूको जे जातको आया पनि मानिस पल्टनमा भर्ना गरिदिनु भयाको छ. लडाका जातबाहेक अरु राख्नाले पछि गोर्खाली पल्टनको नाममा दाग लाग्न जाला भंने संदेह लाग्छ. फेरि सार्की, कामी इत्यादि छोटा जातकालाई तपाईहरूले नोकरीमा लिई दिनाले दुनियांको व्यवहारै पनि चल्न कठिन हुन लागिरहेछ. मालताल पनि साह्रै महंगा हुन लागेको छ. यो लडाइले गर्दा मुलुकमा यतिको मानिस कम भइसकेको छ कि केही वर्षपछि तपाईहरूको २० गोर्खा व्याटालियनलाई पनि रिकुट पाउन कठिन हुन जानु केही वेर छैन. यांहा हाम्रो पल्टनलाई मानिस नपाइनाले अघिभन्दा तलब बढाई ९।१० रुपैया महिनावारी खाने गर्नु परीसक्यो. बाली खाने पुराना पल्टनमा मात्र बेसी तलब पर्ने हुनाले केही रिकुट पाईन्छन्. तपाई तलब बढ्ता दिनुहुन्छ रेल बाहातही सिवानासम्म आयकाले पाहाडका मानिसहरू थोरैलाई यांहा काठमाडौंमा आउनुभन्दा बृटिश मुलुकमा जानु सजिलो भै रहेछ. तेसैले पनि हामीलाई रिकुट मिल्न कठिन हुंदै आयाको हो

– हिमालखबरबाट साभार ।

Loading...

loading...