ChannelNp Logo

छत्रमानका छोराको घडी चोर बात लागेका साँसदको यस्तो छ बयान

प्रकाशित मिति : Sunday, January 8th, 2017 at 2:54 PM



म राजधानीमा भएका बेला सधैं लाजिम्पाटको -याडिसन होटलको क्लबमा जान्छु । म त्यो क्लबको मेम्बर हुँ । साँसद हुनुभन्दा पहिला अन्तै जान्थें । साँसद भएर आएपछि दुई वर्षदेखि त्यहीं जाने गर्छु । म बस्ने डिल्लीबजार हो । हिंडेरै -याडिशन जान्छु र हिंडेरै आउँछु । सधैं क्लब जान्छु । नुहाउँछु, स्टिम लिन्छु, बाथ लिन्छु । दाैडन्छु । बिहान ७ बजे गएर नौ बजे निस्कन्छु ।

गएको बुधबार पनि म क्लब गएको थिएँ । सिमान्त गुरुङ भन्ने एकजना छन् । उनी पनि सधैं आउँछन्, त्यो दिन पनि आएका थिए । जिल्ला जानु थियो ओखलढुंगा । म जिल्ला गएँ ।

मेरो पाइन्टमा घडी रहेछ । जिम जाँदा लगाएको थिएँ । खोलेर ब्यागमा राखेको । ओखलढुंगा पुगेर हेर्दा घडी देखें । रोलेक्स घडी थियो । यति महंगो घडी कसले मेरो खल्तीमा राखिदियो भनेर सिमान्तलाई फोन गरें । घडी सिमान्तको जस्तो लाग्यो । उनको फोन उठेन । म्यासेज गरें, ‘प्लिज कल मी’ भनेर । रेस्पोन्स आएन । सुनील शर्मा भन्ने अर्का साथी हुनुहुन्छ ।

सुनलीजीलाई फोन गरेर त्यहींबाट सिमान्तको एनसेन नम्बर मागें । घडी भेटिएको खबर गरें । उनले घडी आफ्नो नभएको बताए । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह पनि त्यहीं आउने गर्थे । सिमान्त र प्रवल मिल्ने साथी हुन् । उनले प्रवलको घडी हराएकाले उनकै हुनसक्ने बताए । सिमान्तले प्रवल भारत जान लागेको र आउन नभ्याउने बताएपछि उनकै सुझावअनुसार मैले जिल्लाबाट फर्केपछि शनिबार होटल -याडिशनको काउण्टरमा लगेर घडी जिम्मा दिएँ । मैले घडी चोरेको होइन, मलाई फसाउन कसैले मेरो गोजीमा राखिदिएछ ।

एउटा अनलाइनले मैले छत्रमानको छोराको घडी चोरेको समाचार दिएछ । अझ प्रहरी आएको र मैले प्रहरीलाई नै घडी बुझाएको लेखेको देखेर ताजुब लाग्यो । समाचारमा भनेको जस्तो मेरो कोटमा घडी थिइन । मैले बाहिर भेटेको हुँ । केही समयदेखि मेरो बदनाम गर्न मानिसहरु लागेका छन् । त्यही क्रमको एउटा सिलसिला यो हो । यसको म छिट्टै पर्दाफास गर्छु ।

सञ्चार माध्यममा आएपछि मानिसहरुलाई भ्रम भएको हुनसक्छ । मेरो कतिपय शुभचिन्तकहरुले फोन गरेरै चासो राख्नुभएको छ । सबैलाई स्पष्टीकरण दिएर हिंड्न पनि नसकिने । अप्ठेरोमा परेको छु । म गलत छैन । गलत नभएको छ्टिटै प्रमाणित गराएर देखाउँछु । – काठमाण्डौ टुडेबाट ।

loading...
Loading...