ChannelNp Logo

‘लेखेर राख्नुस, अब कि नेपाल रहेन, कि संघीयता रहेन’ : चित्रबहादुर केसी

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 4:21 PM



भक्तपुर, २६ पुस– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कि संघीयता रहने कि नेपाल रहने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केसीले पहाड र तराइलाई टुक्र्याएर आफ्नो लामो समयदेखिको योजना संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिराएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना पुरा गर्न लागेकाले कि संघीयता रहने की नेपाल रहने बताएका हुन् ।

उनले प्रतिपक्षको विरोधका माझ संशोधन विधेयक टेबल गरेर संसदको मर्यादा विपरीत गएर विदेशीको आदेश पालना गर्न वर्तमान सरकारले संशोधन विधेयक टेबल गरी गाइजात्रा देखाएको बताए ।

उनले स्थानीय तहको निर्वाचनको विधेयक ल्याउने अवस्थामा लोकमानको मुद्दा र संशोधन प्रस्ताव ल्याएर अल्झाउने र सत्ता र शक्तिका लागि छिमेकीको भरमै निर्भर हुने अवस्था छाडी समयमै युद्धस्तरमा स्थानीयको निर्वाचनको तयारी गर्नुपर्ने र यदि स्थानीय निकायको निर्वाचन नभए लोकतन्त्र र गणतन्त्र समाप्त हुने बताए ।

भारतीय स्वार्थमा पुनःसंरचना गर्न सत्ताशीन दलहरु लागि परेको बताउँदै उनले महिनौं दिनसम्म पनि लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग अड्काएर राख्न मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआएसम्म आफ्नो विवेकले काम नगर्ने उनले बताए । नेपालको तराई क्षेत्रको भू–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघीयताबाटै सम्भव रहेको र यसको पछिल्लो उदाहरण पाँच प्रदेशलाई तराईबाट छुट्याएर आफ्नो स्वार्थ पूरा गर्ने जानकारी पाएपछि सरकारमा रहेको काँग्रृसका सांसद र अन्य राजनीतिक दलका सांसदहरुले समेत खुलेरै बिरोध गरेको उनले बताए ।

मधेशी मोर्चा आफ्नो विवकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै उनल ‘पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतले कब्जामा लैजाने रणनीति भएको आरोप लगाए । उनले निर्वाचनमा मोर्चाका केही जमिनदार र भारतका पिछलग्गु नेतालाई मधेशका जनताले नै ठीक पार्ने बताए ।

नेपाली राजनीतिज्ञहरु विदेशी कुटनीतिज्ञहरुका अघि लम्पसार पर्ने रोगकै कारण नेपालको कुटनीतिक पक्ष कमजोर भएको र यसै कारण विदेशीहरुले नेपाललाई खेल्ने थलो बनाएको र हेप्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

माओवादी केन्द्र र काँग्रेसको केन्द्रीय समितिमा कहिल्यै पनि संशोधनका विषयमा छलफल नहुने र पाँच नं प्रदेश र अन्य प्रदेशका सिमांकनबारे कहिल्यै छलफल नभएको तर छिमेकीको इशारा आउनासाथ सत्ता टिकाउन र शक्ति बचाउने रोगकै कारण नेपालको राष्ट्रियता र स्वाभिमान खतरामा रहेको उनले टिप्पणी गरे ।
– काठमाण्डूटुडेबाट ।

Loading...
loading...