ChannelNp Logo

सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी

प्रकाशित मिति : Wednesday, August 28th, 2019 at 6:30 AM



काठमाडौं, भदौ ११ । सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा बहालवाला उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्दै निमित्त उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि नेपाल विद्यार्थी संघले पाँच महिनादेखि लगाएको ताला अझै खोलेको छैन ।

तत्कालीन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिस्ट्रार डा. द्विजराज भट्टलाई सरकारले २७ पुस ०७५ मा पदमुक्त गर्दै निमित्तमा क्रमशः डा. पूर्णबहादुर चन्द र डा. गोविन्दसिंह विष्टलाई नियुक्त गरेको थियो ।

त्यसको विरोधमा नेविसंघले महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूलगेटमा २७ चैतमा तालाबन्दी गरेको थियो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन्।

नेविसंघले राम्रो काम गरिरहेका उपकुलपति र रजिस्ट्रारलाई कारबाही गरेर विश्वविद्यालयविरोधी पूर्णबहादुर चन्दलाई उपकुलपति बनाएको भन्दै विरोध गरिरहेको छ । विश्वविद्यालयमा लगाएको ताला खोल्ने छाँटकाँट देखाएको छैन।

बरु, दैनिक प्रशासनिक काम सञ्चालन हुँदै आएको रजिस्ट्रारनिवासमा पनि ८ साउनदेखि नेविसंघले ताला लगाइदिएको छ । यसले विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पससहित केन्द्रीय क्याम्पसको सुधार तथा भावी योजनाका लागि बस्नुपर्ने सिनेट बैठकसमेत अनिश्चित बनेको छ।