ChannelNp Logo

गाउँको मुखियाले जस्तो पार्टी चलाइरहेका छन् !

प्रकाशित मिति : Thursday, December 20th, 2018 at 7:10 PM



(रामेश अनि रायन चिनाइराख्नु पर्ने नाम होइन । ‘एक जुगमा एक दिन एकचोटी आउँछ’ लगायत कैयन जागरणका गीतमार्फत् जनता ब्युँझाउने जन गायक हुन् रायन । यिनै रायनसँग उनको सांगीतिक यात्रलगायत विषयमा केन्द्रित रहेर गरिएको भलाकुसारीः सम्पादक)

० जनताको मुक्ति सधैं तपाईंको प्राथमिकतामा परे । यसकै लागि संघर्षरत हुनुहुन्छ । जनताका सपना कति पूरा भए जस्तो लाग्छ त ?

–जनताको सपना पूरा भएकै छैन । सामन्तवादको जड संस्था राजसंस्था थियो, त्यो बिदाबारी भएर गयो । तर, सामन्ती सोच, संस्कार, चरित्र राजसंस्था बिदा भए पनि बाँकी नै छ । यो चरित्र अहिले हाम्रा नेताले बोकिरहेका छन् ।

० गणतन्त्रले पनि सोच र संस्कार परिवर्तन गरेन हगि ?

–गर्दै गरेन त । सोच र विचार उस्तै छ । यी ‘नव राजा’ बनेका नेताहरूलाई अरुको कुरा सुन्ने फुर्सदसमेत अहिले छैन ।

० तपाईंहरूकै बलमा सत्तामा पुगेकाले किन यस्तो गरेका होलान् ?

–यो देश र जनताप्रतिको बेइमानी र धोका हो । दल र नेताहरू आफ्नो स्वार्थ अनुसार अघि बढ्दा यी नहुनुपर्ने कुराहरू भइरहेछन् ।

० तपाईंहरूले नै स्थापित गरेका नेताले गरेका यी सबै दृश्य देख्दा कस्तो अनुभूति हुन्छ ?

–आजका धेरै नेता हिजो गाँस र बासको समेत समस्यामा थिए । उनीहरू भोको, नांगो हुँदा, अप्ठ्यारोमा पर्दा सम्पूर्ण कुरा हामीले गरिदिएका थियौं । बाटो खर्च जुटाइदिनेदेखि जेल पर्दा खानाको व्यवस्था गरिदिने अनि बास नपाउँदा सेल्टर खोजेर राखिदिने पनि हामी नै थियौं । जनताको मुक्तिका लागि हामीले यी सब गरेका थियौं, चप्पलबाट पजेरोमा पु¥याउन चाहिं गरेका थिएनौं । तर, साह्रै स्वार्थी रहेछन्, नेताहरूले हिजोका ती संघर्ष सबै भुले । यो सम्झँदा निकै नमीठो पीडा र अनुभूति हुन्छ ।

० नेताहरूलाई सहयोग गरेको कुरा गर्नुभयो । को–को नेतालाई नजिकबाट सहयोग गर्नुभयो, बताइदिनुहोस् न ?

–केही नेता बितिसक्नु भयो, केही नेता अझै पनि जीवित हुनुहुन्छ । म उहाँहरूको नाम लिन चाहन्नँ । तत्कालीन एमाले, माले, माओवादीका नेतालाई हामीले दुःखमा साथ दिएका थियौं । तर, उहाँहरू अहिले सीमित स्वार्थका निम्ति पारिवारिक हिसाबले गाउँको मुखिया जमिन्दारले जस्तो पार्टी चलाइरहनु भएको छ ।

० नेताहरूसँग भेटघाट चाहिँ कत्तिको हुन्छ नि ?

–कार्यक्रमहरूमा संयोगले भेट हुन्छ । त्यस्ता भेटमा पनि औपचारिकता निर्वाह गर्ने बाहेक अरु केही कुरा हुँदैन ।

० ‘एक जुगमा एक दिन एकचोटी आउँछ….’ त्यो एक दिन कहिले आउला त ?

–आशावादी बनौ अवश्य आउँछ । अहिलेका जनता हिजोका जस्ता छैनन्, निकै जागरुक छन् । हाम्रो कमाइ भनेको नै त्यही हो । त्यो सम्पत्ति मर्दैन र जनताले आफ्नो अधिकार लिएरै छाड्छन् भन्नेमा हामी विश्वस्त छौं । जनताले एकदिन अवश्य यी स्वार्थी नेताहरूलाई सत्ताबाट खसाल्छन् ।

० फरक प्रसंग, गीत–संगीत क्षेत्रमा कसरी आइपुग्नु भयो ?

–मेरो जन्म ओखलढुंगामा भएको हो । ओखलढुंगाको रमाइलो वातावरणमा म जन्मेँ÷ हुर्कें । यहाँ जात्रा÷मात्रामा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । हरेक जात्रा÷मात्रामा हामी कार्यक्रमहरू गर्दथ्यौं । यसले पनि गीत÷संगीततर्फको रुचि बढाउँदै लग्यो । अर्को कुरा मेरो पारिवारिक माहोल पनि त्यस्तै थियो । मेरो बाजे रोयल सिंगर हुनुहुन्थ्यो । मेरो बुबा पनि यसमा चासो राख्नुहुन्थ्यो । घरको वातावरण र ओखलढुंगाको सांस्कृतिक वातावरणले म गीत÷संगीतमा लागेँ ।

० जनवादी गायनमा चाहिँ कसको प्रेरणाले आइपुग्नु भयो नि ?

–एउटा त ओखलढुंगाको वातावरण नै भन्नुपर्ला । अर्को पारिवारिक अवस्थितिले पनि हो । गाउँमा थिचोमिचो, अन्याय, अत्याचार, अभाव, गरीबी मैले धेरै देखेँ । सानैदेखि यस्तो दुःख देखेको हुनाले मलाई यस्तो परिवेशले छुन्थ्यो । सात सालको परिवर्तनपछि ओखलढुंगामा कांग्रेसहरूको उपस्थिति निकै बलियो हुन पुग्यो । मेरो मामाको छोरा मेघबहादुर श्रेष्ठ कांग्रेसको सुरुवात गर्ने नेता हुनुहुन्थ्यो । तैपनि ठूलो हुँदै गएपछि दुःख गरिबीका बारेमा बोल्ने कम्युनिष्ट रहेछ भनेर बुझियो । नेपाललाई भारतबाट आउने दबाबविरुद्ध कम्युनिष्टहरू बोलिराख्ने भएकाले कम्युनिष्ट विचारले तान्यो । बमप्रसाद कोइराला र नारायणबहादुर गुरुड शिक्षक हुनुहुन्थ्यो । उहाँहरूले कम्युनिष्टबारे भन्नुहुन्थ्यो । धनी गरीब भन्ने कम्युनिष्ट पार्टीमा हुँदैन भन्ने सुनिन्थ्यो । यसले मनमा राम्रो छाप प¥यो । ठूलो हुँदै जाँदा कोसी, गण्डकमाथि इन्डियाले गरेका अतिचारबारे बुझियो । यी कुरा कम्युनिष्टले उठाएकाले यसमा आउन विशेष प्रभाव पा¥यो होला भन्ने लाग्छ ।

० तपाईंहरूको गायन यात्रा कसरी अघि बढ्यो नि ?

–रामेश र म ओखलढुंगामा सक्रिय थियौं । वि.सं. २०१९ सालमा रेडियो नेपालले पहिलोपटक कार्यत्रबmम सुरु ग¥यो । अखिल नेपाल राष्ट्रिय लोकगीत सम्मेलन यसको नाम दिइएको थियो । स्थानीयरुपमा हामी जिल्लामा चर्चित भएकाले बडा हाकिमले हामीलाई सगरमाथा अञ्चलको प्रतिनिधित्व गराएर पठाइदिए । रेडियो नेपालमा त्यतिबेला टेक्न पाउनु सौभाग्यको कुरा हुन्थ्यो । चर्चित कलाकार भेट्ने उत्सुकता र रेडियोबारे जान्ने चासो बोकेर हामी गीत गाउन काठमाडौं छिरेका थियौं ।

रेडियो नेपालको त्यो कार्यक्रममा हामीले गीत गायौं, जसलाई धेरैले मन पराए । हामीले पुरस्कार नपाए पनि राम्रै स्यावासी पायौं । त्यो प्रथम प्रस्तुतिले हामीलाई ठूलो हौसला प्रदान ग¥यो । त्यहीबेला भोटेबहालको सानो घरमा एकेडेमी भाडामा बस्थ्यो । माधव घिमिरेले हामीलाई त्यहाँ लगेर हाम्रो गीत रेकर्ड गर्नुभयो । ठूला साहित्यकार भेट्न पाउनु ठूलो कुरा थियो, तर हाम्रो गायकीले यी सबै सम्भव भएको थियो । यसले सांगीतिक क्षेत्रमा लाग्न प्रेरित ग¥यो ।

० अनि काठमाडौं मै बस्नु भयो कि फर्किनु भयो त ?

–त्यसपछि हामी फेरि गाउँ फर्कियौं । हामीले गाएको गीत रेडियो नेपालमा बज्न थाल्यो । यसले हामीलाई अझै उर्जा मिल्यो । पछि हामी रेडियो नेपालको कन्ट्याक्ट कलाकारकै रुपमा काम गर्न थाल्यौं । झण्डै २२–२३ सालसम्म रेडियो नेपालमा हामीले काम ग¥यौं । रेडियो नेपालबारे हामीले जस्तो परिकल्पना गरेका थियौं , त्यो पाएनौं । हामीमाथि थिचोमिचो र अपमान गर्ने, अघि बढ्न नदिने काम त्यहाँभित्रबाट भयो । कतिसम्म भने ठूला÷बडा कलाकारहरूले हामीले प्रति गीत पाउनु पर्ने १० रुपैयाँ पनि नदिने र आफैं खाइदिने गर्न थाले ।

त्यतिबेला १० रुपैयाँको ठूलो महत्त्व थियो । तर, हामीले धेरै गीतको पारिश्रमिक नै पाएनौं, ठूला बडाले खाइदिए । तिनै भ्रष्ट कलाकार अहिले वरिष्ठ कलाकारकारुपमा चिनिन्छन् । पछि हामीले विशेष प्रहरीमा यसबारे मुद्दा नै हाल्यौं । रेडियो नेपालमा छापा नै मारियो । कलाकारहरूको भागाभाग नै भयो । कतिपय कलाकार यही कारण राजीनामा दिन बाध्य भए । हामीलाई कुट्ने, पिट्ने र मार्ने धम्की आउन थालेपछि हामी रेडियो नेपालबाट बाहिरियौं ।

० ओ हो धेरै दुःख पाउनु भएछ हगि, त्यसपछि नि ?

–यसपछि हाम्रो भेटघाट पारिजातसँग हुनपुग्यो । हाम्रो गीतले उहाँ प्रभावित हुनुहुँदो रहेछ । विचार मिल्ने भएपछि राल्फा आन्दोलन सुरु भयो र हामी सडकमा गीत गाउन थाल्यौं । पारिजात दिदीकोमा समकालीन साहित्यकार, लेखक आउनुहुन्थ्यो, त्यहीबाट राल्फा आन्दोलन सुरु भयो । पञ्चायत स्थापित हुन भर्खरभर्खर लागिपरेका बेला शोषित पीडितका गीत गाउन थालेपछि सामन्तले खेद्ने र जनताले मायाँ गर्न थाले । सानो खोलीबाट नदी, नदीबाट सागर र सागरबाट महासागर गएजस्तै हामी स्थापित हुन पुग्यौं ।

० कठीन समयमा जनताका गीत गाउनु भयो । भोकै नाड्डै संघर्ष त धेरै गर्नुप¥यो होला है ?

–हो, ग¥यौं । ज्यान हत्केलामा राखेर हिँड्यौं

० केही अविष्मरणीय क्षणहरू सम्झिदिनुहोस् न ?

–म बालमन्दिरमा गणित विषय पढाउँथें । मेरो जागिरे नाम नारायणभक्त थियो । बाल मन्दिरको अध्यक्ष रानी रत्नराज्यलक्ष्मी थिइन् । त्यस्तो ठाउँमा म काम गर्थेँ । ४८ वर्ष शिक्षण पेशा गरेको थिएँ । नयाँ शिक्षा योजना लागू गर्नुभन्दा अगाडि मोडल स्कूल भनेर अधिराज्यमा पाँच स्कूल सरकारले खोल्ने भयो । बालमन्दिर ५ मध्ये एकमा परेको थियो । म अन्तरवार्तामा छानिएर पुगेको थिएँ । म परिचय लुकाएर त्यहाँ काम गर्थें । १०–४ काम गर्थें र त्यसपछि जनताको गीत गाउँदै हिँड्थेँ ।

० अनि गुप्तचर र प्रहरीबाट चाहिं कसरी बच्नु भयो त ?

–पुलिसहरू यही पसेको छ भन्दै बालमन्दिरमा मलाई खोज्न आउँथें तर हाम्रै साथीहरूलाई पनि मेरो अर्को परिचयबारे थाहै थिएन । बाहिर सशक्तरुपमा सामन्ती राजाविरुद्ध काम गर्ने तर त्यहाँ गएर उनीहरूसँगै मिलेर काम गर्नुपर्ने † मलाई सधैं थाहा पाएर केही गर्ने पो हुन् कि भन्ने आसन्न त्रासले सताइरहन्थ्यो ।

० शिक्षक हुँदाका केही स्मरण पनि छन् कि ?

–म विद्यार्थीबाट मन पराइएको शिक्षक थिएँ । मैले पढाएका कैयन विद्यार्थी डाक्टर, सचिव, इन्जिनियर भइसकेका छन् । परिचय लुकाएर गरेको यो काम अविष्मरणीय लाग्छ ।

० राल्फा समूहबारे अरु अविस्मरणीय केही ?

–२०२४ सालमा त्यतिबेला सांगीतिकरुपले चर्चित समूह राल्फा थियो । राजा महेन्द्रले हाम्रो गीत सुन्ने इच्छा राखे । हरेक वर्ष पुस १ गते पञ्चायत दिवस मनाइने गरिन्थ्यो । रेडियो नेपालमा सँगै काम गर्दाका साथी महेन्द्र खनाल प्रज्ञा प्रतिष्ठानका महाप्रवन्धक थिए । राजाले अमेरिकामा हाम्रै शैलीको गीत सुनेका रहेछन् । यो सुनेर राजा महेन्द्रले खनाललाई हाम्रोमा यस्ता कलाकार छैनन् भनेर सोधेछन् ।

खनालले राल्फा भएको बताएपछि राजाले प्रस्तुत गर्न आदेश दिएछन् । उनले साथी भएकाले ल्याउने वचन राजालाई त दिए तर हामी त्यस्तो कार्यक्रममा गीत गाउने पक्षमा थिएनौं । जनताको माया पाएकाले हामीमा अहं बढिसकेको थियो । हामीबीच उक्त कार्यक्रममा जाने÷नजाने विषयमा लामो विवाद नै भयो । अन्तिममा हामी जाने निष्कर्षमा पुग्यौं । तर हाम्रो यसमा आफ्नै सर्त थिए । सर्त अनुसार हामीले गएर गीत गायौं । कुन गीत गाएका थियौं त्यो त अहिले बिर्सिएँ, तर हामीले राजाको बीचमा अन्य कार्यक्रममा जस्तै गरी गीत गाएका थियौं । यो कुरा मलाई अविष्मरणीय लाग्छ ।

० एउटा शिक्षक, जनताको गीत गाउन कसरी गाउँ गाउँ पुग्नुहुन्थ्यो त ?

–बिदाको समयमा म अधिराज्यव्यापी अभियानमा लाग्थेँ ।

० नारायणभक्त र रायन एउटै रहेछ भनेर परिचय चाहिं कहिले खुल्यो नि ?

–२०४६ को आन्दोलनपछि मात्रै मानिसहरूले यसबारे थाहा पाए । २०४६ को आन्दोलन शिथिल हुँदै गएका बेला लेखक, कवि, कलाकारलगायतले चैत ३ गते एउटा अभियान चलाएका थियौं । त्रिचन्द्रमा कालोपट्टी लगाएर विरोधसभा गरेका थियौं । हामीले सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बोलाएर यो विषय सबैतिर पु¥याउने सोच अनुरुप डाकेका थियौं । पारिजात दिदीलाइ त मैले नै बोकेर लगेको थिएँ, त्यो कार्यक्रममा । तर, हाम्रो कार्यक्रम विथोलियो र हामी सबैलाई जेलमा लगियो । जेलबाट छुट्ने बेला टिभीले हाम्रो अनुहार देखायो । त्यसपछि हामी परिचित भयौं ।

० सशक्त जनताका गीत कसरी जन्मन्छन् ?

–गाउँले परिवेश, भोगाइ नै हाम्रो सिर्जनाको स्रोत हो ।

० प्रगतीशिल गायनको यात्रा कसरी अघि बढिरहेको छ ?

–२०६२÷०६३ मा नेताहरू बद्नाम भएका बेला हामीले नागरिक आन्दोलन उठायौं । हामी आफ्नै तरिकाले यसलाई अहिले पनि अघि बढाइरहेका छौं ।

० जति लडे पनि केही नभएको देखेर दिक्क लाग्दैन ?

–हामीले गाएका जनमुखी गीत हिजोआज कसैले पनि बजाउँदैनन् । हाम्रा रेडियो, टिभी जनमुखी नै छैनन् । सरकार हामीले गाएका गीतहरूको संरक्षण गर्ने पक्षमा छैन किनकि हाम्रा गीतहरूले अहिलको नेताहरूलाई नै पोल्ने भएको छ । जनता उठाउने हाम्रा गीतले उनीहरूलाई पोल्छ ।

यस्ता गीतलाई अंकित गरेर भावी पीडिलाई दिन लागिरहेका छौं । आन्दोलन विद्रोह निरन्तर चलिरहन्छ । जनता सुहाउँदो गीत संरक्षण गर्नुपर्छ भनेर लागिरहेका छौं ।