ChannelNp Logo

विचारमा स्पष्ट हुन नसके जतिसुकै ठूलो भए पनि कम्युनिस्ट पार्टी तासको महलजस्तो ढल्न सक्छ- रक्षामन्त्री पोखरेल

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 4:46 PM



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विचारमा स्पष्ट हुन नसके जतिसुकै ठूलो भए पनि कम्युनिस्ट पार्टी तासको महलजस्तो ढल्न सक्ने बताएका छन्।

काठमाडौंमा बुधबार युवा संघ नेपालको २९ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले नेकपा एमाले र नेकपा एमाओवादी केन्द्रबीचको एकता जनचाहनाअनुसार नै भएको बताए।

हिजो आफ्नो-आफ्नो राजनीतिक कार्यदिशा बोकेर हिँडेका एमाले र माओवादीका नेता/कार्यकर्ता अब विचारमा स्पष्ट भएर नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताए।पार्टी एकताबद्ध भएको खुसी मनाइरहेका छौं तर विचारमा अस्पष्टता रह्यो भने त्यसले हामीलाई अगाडि बढ्न दिँदैन,’ उनले भने, ‘हाम्रो एकता जिन्दावाद भनेर नारा लगाइरहँदा विचारमा स्पष्ट भएको पार्टी जिन्दावाद भनेर सँगसँगै नारा लगाउनुपर्छ।’

विचारमा स्पष्ट हुन सकेन भने कम्युनिस्ट पार्टी एकता भएर बनेको ठूलो पार्टीले निर्णायक जीत हासिल गर्न नसक्ने उनले बताए।संसारमा हामीले देख्यौं कम्युनिस्ट पार्टीहरू ठूला बने। सत्ता कब्जा गरे। शासन चलाए तर ती कम्युनिस्ट पार्टीहरू पुँजीवादीहरूले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढलेजस्तो भएर ढले,’ उनले भने।एकताबद्ध भएको नेपालको कम्युनिस्ट पार्टी तासको महलजस्तो ढल्न नहुने भएकोले सबैले खबरदारी गर्नुपर्ने बताए।

‘हामीले चाहेको विचारमा स्पष्ट भएको कम्युनिस्ट पार्टी हो,’ उनले भने, ‘अरु देशको जस्तो विचारमा अस्पष्ट भएर दुर्गती भोगेको कम्युनिस्ट पार्टी हामी चाहन्नौं।’मार्क्सवाद र लेलिनवादबाट निर्देशित भएको पार्टी बन्नुपर्ने उनले बताए।उनले पार्टीमा अब तजविजी अधिकार नचल्ने बताए। नेपालको राजनीति आर्थिक विकास विकास र समृद्धितर्फ जाने बताइरहे पनि कसरी जाने भन्ने स्पष्ट नभए न हाँसको न कुखुराको चाल भनेजस्तो हुने उनले बताए।

सेतोपाटी अनलाईन बाट