ChannelNp Logo

तलब केहि गरे बढेन ? ,यो उपाय लगाउनुहोस

प्रकाशित मिति : Thursday, May 23rd, 2019 at 8:38 AM



जागीरमा पदोन्नति होस्, वर्षैपिच्छे तलब बढिरहोस् भन्ने चाहना हरेक मानिसमा हुन्छ । यो स्वाभाविक पनि हो । तर, कहिलेकाहीँ कयौं वर्षसम्म पनि तलब बढ्दैन । पदोन्नति पनि हुँदैन । यस्तो किन भइरहेको छ, तपाईंले यसबारे कहिल्यै विचार गर्नुभएको छ ? यसका विविध कारण हुन सक्छन् । यसमध्ये केही कारण तल दिइएका छन् :

१. तलब वृद्धिको माग नगर्नु
आफ्नो कठोर परिश्रम र स्पष्ट देख्न सकिने नतीजाले स्वतः आफ्नो तलब वृद्धिमा सघाउने अपेक्षा हामी गर्दछौं । तर सधैं यस्तो नहुन पनि सक्छ । कर्मचारीले केही नबोलेपछि उनीहरू विद्यमान तलब र पदप्रति सन्तुष्ट रहेछन् भन्ने धारणा कम्पनी व्यवस्थापनमा आउन सक्छ । कतिपय अवस्थामा त तलब वृद्धिको माग नै गर्न सक्नेगरी काम नगरेको भएर पो चुप लागेर बसेको हो कि भन्ने पनि पर्न सक्छ । त्यसैले, आफ्नो अपेक्षा के हो र आपूmले कम्पनीलाई दिइरहेको योगदानबारे पनि बेलाबेलामा थाहा दिनुपर्छ ।

२. तलब बढाउने माग नै गलत हो कि भन्ने सोच
अहिले खाइपाइ आएको तलब घरपरिवारको खर्च धान्न र छोराछोरी पढाउन पुगिरहेको छैन । घर बनाउँदै हुनुहुन्छ अनि नियमित ईएमआई तिर्न तलबले नपुग्ने आदि निजी कारणले तलब बढाइदेऊ भन्नु उचित हुँदैन । तपाईंका यस्ता समस्या देखेर कम्पनीले कहिले पनि तलब बढाउँदैन । तलब वृद्धि तथ्य, तथ्यांक र प्रदर्शनमा आधारित हुन्छ । त्यसैले यसका लागि खुलेर बोल्नुभन्दा अघि कम्पनीको मुनाफा र मूल्यवृद्धिमा आफूले दिएको योगदान औंल्याउने यसको ठोस प्रमाण दिने गर्नुपर्छ । कम्पनीका लागि आपूm किन अपरिहार्य छु भन्ने कुराको पुष्टि गर्न सकिएन भने तलब पनि बढ्दैन र पदोन्नति पनि हुँदैन ।

३. सहकर्मीसँग बेमेल
सहकर्मीसँग मिल्दै नमिल्ने, कार्यालयमा बखेडा मात्रै झिक्ने कर्मचारीलाई कसैले पनि मन पराउँदैनन् । तपाईं पनि सहकर्मीहरूसँग झगडा गरिरहनुहुन्छ, यो भएन/त्यो भएन भनेर गुनासो गरिरहनुहुन्छ वा तपाईंसँग समूहमा मिलेर काम गर्न गाह्रो मान्ने जमात ठूलो छ भने पदोन्नति र तलब बढ्ने कर्मचारीको सूचीमा तपाईंको नाम पुछारमा आउँछ । त्यसैले तलब बढोस्, पदोन्नति भइरहोस् भन्ने चाहना राख्ने हो भने अरूले मन पराउने अनि आफ्नो दक्षता तिखार्दै जाने शीपको विकास गर्नुपर्छ ।

४. समूहमा काम गर्न नसक्ने बानी
चाहे शिक्षा होस् या वित्त, सूचना प्रविधि होस् या सञ्चार हरेक क्षेत्रमा समूहमा मिलेर काम गर्न सक्ने कर्मचारीलाई बढी महत्त्व दिइन्छ । समूहमा काम गर्दा अरूले गरेको कामको श्रेय सम्बन्धित व्यक्तिलाई नदिएर आफै लिने, काम बिग्रिँदा त्यसको दोष अरूमाथि थुपारेर आफू पन्छिने बानी भएका व्यक्तिलाई कम्पनीले नेतृत्वदायक भूमिकाका लागि योग्य ठान्दैन । तपाईं टिम लिडर हुनुहुन्छ, तर समूहका सबै साथीलाई आफूसँगै डोहोर्‍याउन सक्ने खुबी छैन । अरूलाई मौका नदिएर सबै अवसर आफै उपयोग गर्नुहुन्छ, आफू मात्रै ‘लाइमलाइट’मा आउन खोज्ने बानी छ भने पनि तलब बढ्ने सम्भावना नगन्य हुन्छ ।

५. धेरै आशा गर्ने बानी
कहिलेकाहीँ हामीले आफूले गरेको कामलाई मात्र ठूलो देख्छौं । जानेर होस् या नजानेर मैले यो गरेँ, त्यो गरेँ भनेर आफ्नो दुःख र परिश्रमलाई मात्रै बढी मूल्यांकन गर्छौं । तपाईंले यस्तो सोचे पनि तपाईंको हाकिमले तपाईंबारे यस्तै सोच नराखेको पनि हुन सक्छ । बजारको अवस्था र कम्पनीको प्रदर्शनबारे विचार नगरीकन तलब त यसपालि यति बढ्नुपर्ने हो भनेर सोच राखिएको छ भने अपेक्षा पूरा नहुन पनि सक्छ । त्यसैले वास्तविकतासँग नमिल्दो अपेक्षा राख्दा मागेको भन्दा थोरै मात्रै तलब बढ्नु स्वाभाविक हो ।

६. गल्तीमाथि गल्ती
कुशलतापूर्वक, छिटो अनि विना कुनै गल्ती काम गर्नु राम्रो कर्मचारीको परिचय हो । तर कुनै पनि परियोजनामा वा दिइएको काममा बारम्बार गल्ती गरिरहने, पुराना गल्तीबाट पाठ पनि नसकिने बानीले अन्ततः कम्पनीलाई त घाटा हुन्छ नै, त्यस्ता कर्मचारीलाई कसैले पनि राम्रो मान्दैनन् । तलब सुविधा बढ्ने सम्भावना पनि कम हुन्छ । यस्ता कर्मचारीलाई कम्पनीले राखिरहनु नै ठूलो कुरा हो । त्यसैले गल्तीबाट पाठ सिकेर त्यस्ता गल्ती सकेसम्म नदोहोर्‍याउने, आफ्नो प्रदर्शन सुधार्ने र कुशलता बढाउने प्रयास गर्नु नै बेश हुन्छ ।

७. पाउनुपर्नेभन्दा धेरै पाइरहेको छ कि ?
काम गर्ने क्रममा हरेक वर्ष वा निर्धारित समयमा तलब वृद्धि र पदोन्नति नहुन पनि सक्छ । आपूm कम्पनीको संगठनात्मक पदक्रममा कुन खुड्किलोमा छु भन्ने पनि हेर्नुपर्छ । कहिलेकाहीँ कम्पनीहरूले कर्मचारीलाई खुशी बनाउन कुनै वर्ष उनीहरूको पद र स्तरभन्दा धेरै तलब दिने गर्छन् । तर त्यसपछिका केही वर्षमा भने तलब वृद्धि शून्यको स्तरमा हुन्छ । यसको अर्को कारण पनि हुन सक्छ । कम्पनीले प्रमाणपत्र र अनुभवका आधारमा शुरूमै धेरै तलब दिएको हुन्छ । तर, पछि सोहीअनुसार काममा उल्लेख्य प्रगति नहुँदा खाइपाइ आएको तलब ठीकै छ भनेर बढाइँदैन ।

८. अपेक्षाअनुसारको काम मात्रै गर्ने
कर्मचारीले आफूबाट हाकिमले अपेक्षा गरेको काम र जिम्मेवारी सकेसम्म पूरा गर्ने प्रयास गर्छन् । तर सधैं निर्धारित उत्तरदायित्व मात्रै पूरा गर्ने कर्मचारी हाकिमको नजरमा खासै पर्दैनन् । उनीहरूको प्रशंसा पनि खासै हुँदैन र तलब बढ्ने सम्भावना त झनै नगन्य हुन्छ । तपाईंमध्ये केहीको केही वर्षयता पदोन्नति भइरहेको छैन वा तलब सुविधा पनि बढेको छैन भन्ने आफ्नो प्रदर्शनको मूल्यांकन गर्नुहोस् त, तपाईं मध्यम खालको कर्मचारी पो हुनुहुन्छ कि ?

९. नयाँ शीप सिक्न नमान्ने
कम्पनीमा समयसमयमा पदोन्नतिसहित तलब पनि बढोस् भन्ने चाहना सबैको हुन्छ । तर यसका लागि समय सुहाउँदो शीप विकास र विस्तार गर्नु त जरुरी छ नै, परिवर्तित समयअनुसार आफूलाई ढाल्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । आफूले काम गरिरहेको क्षेत्रसँग सम्बन्धित नयाँ प्रविधि वा सूचनाबारे जान्न नमान्ने, सोहीअनुरूप आपूmलाई नढाल्ने हो भने त्यस्ता कर्मचारीले कम्पनीको मूल्यवृद्धिमा केही पनि टेवा दिन सक्दैनन् । कम्पनीले यस्ता कर्मचारीलाई विस्तारै पाखा लगाएर कामबाटै निकाल्न पनि सक्छ ।

१०. समस्या मात्रै निकाल्ने, समाधान नखोज्ने
यो भएन, त्यो भएन, यस्तो समस्या भयो, उस्तो समस्या भयो भनेर तपाईं सधैं हाकिम र अन्य सहकर्मीसँग गनगन गरिरहनुहुन्छ ? आफूभन्दा कनिष्ठ कर्मचारी र समूहका सदस्यले कुनै समस्या लिएर आउँदा सोको समाधान निकाल्न सक्नुहुन्न ? यदि यस्तो हो भने यसले पनि तपाईंको पदोन्नति र सेवा सुविधामा असर पार्न सक्छ । यो धेरैजसो शीर्ष पदमा रहेका कर्मचारीमा मिल्छ । कम्पनीले कर्मचारीलाई जस्तोसुकै समस्यासँग पनि जुध्न सक्छ, समाधान निकाल्न सक्छ भन्ने सोचेर ठूलो पदमा राखेको हुन्छ । तर, उसले अपेक्षा गरेअनुरूप समाधान निकाल्न सकेन भने पनि पदोन्नति र तलब वृद्धि रोकिन्छ । आर्थिक अभियान अनलाइनको सहयोगमा