ChannelNp Logo

तपाईलाई थाहा छ ? प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार पाँउदा कति पारिश्रमिक पाइन्छ ?

प्रकाशित मिति : Wednesday, June 12th, 2019 at 2:26 PM



धानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सिन्धुलीका करीब २ हजार जना युवाले १५ दिने रोजगारी पाउने भएका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये हालसम्म एउटाले मात्रै रोजगारी कार्यक्रम शुरु गरेका छन् भने ८ स्थानीय तहले अझै शुरु गर्न सकेका छैनन् । बजेट ढिलो गरी आएको र कार्यालय प्रमुखहरुको बेवास्ताका कारण निर्णय गर्न ढिलो भएकाले कार्यक्रम ढिलो शुरु भएको ती स्थानीय तहका अधिकारीले बताएका छन् । ती ८ तहमध्ये अधिकांशले असारको पहिलो साताबाट युवालाई रोजगारी दिने तयारी गरेको बताएका छन् ।

तीनपाटन गाउँपालिकाले भने ६० जना युवालाई १ महीने रोजगारी दिन शुरु गरिसकेको छ । बेरोजगारी फारम भरेकामध्ये ६० जनालाई १ महीनाका लागि निर्माण क्षेत्रमा रोजगारी दिइएको गाउँपालिका अध्यक्ष कर्ण थापाले जानकारी दिए । ५ दिन अगाडिबाट ती युवाले काम पाएका हुन् । प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि गाउँपालिकामा ३७ लाख रुपैयाँ बजेट आएको र त्यसमध्ये २५ प्रतिशत रकम सामग्री खरीद एवम् कार्यालय सञ्चालन तथा करकट्टी गरी बाँकी रहेको ७५ प्रतिशत रकमबाट बेरोजगार युवालाई रोजगारी दिएको उनको भनाइ छ । स्थानीय भालुखोलामा निर्माणाधीन लच्कामा ती युवालाई रोजगारी दिइएको अध्यक्ष थापाले बताए ।

जिल्ला सदरमुकाम रहेको कमलामाई नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले असार पहिलो साताबाट फारम भरेकामध्ये सम्पर्कमा आएका सवैलाई रोजगारी दिनेगरी तयारी भएको जानकारी दिए । नगरक्षेत्रबाट १ हजार जनाको फारम संकलन भएको उनले बताए । यो कार्यक्रमका लागि ७६ हजार रुपैयाँ बजेट आएको र त्यसमध्ये ३० प्रतिशत रकम उपकरण खरीद एवम् कार्यालय सञ्चालनका लागि खर्च गरी बाँकी रकमबाट रोजगारी दिइने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । नगरको सरसफाईदेखि निर्माणको काममा खटाउने गरी नगरपालिकाले निर्णय गरेको उनको भनाइ छ ।

यस्तै दुधौली नगरपालिकामा ५६० जनालाई रोजगारी दिने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले बताए । कार्यक्रमका लागि ७० लाख रुपैयाँ बजेट आएको उनले जानकारी दिए ।

फिक्कल गाउँपालिकाले बेरोजगार फारम भरेकाहरुलाई १५ दिने रोजगारी दिने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत दिपक रिजालले बताए । यसका लागी गाउँपालिकामा १६ लाख रुपैयाँ बजेट आएको उनले बताए ।

गोलञ्जोर गाउँपालिकामा १३० जनालाई रोजगारी दिने तयारी भएको रोजगार संयोजक सरद प्याकुरेलले बताए । यसका लागि गाउँपालिकामा २० लाख रुपैयाँ बजेट आएको उनको भनाइ छ ।

मरिण गाउँपालिकाले पनि असार पहिलो साताबाटै रोजगारी दिने तयारी गरेको रोजगार संयोजक रमा कार्कीले बताइन् । यसका लागि गाउँपालिकामा २७ लाख रुपैयाँ बजेट आएकोमा त्यसमध्ये ७० प्रतिशत रकम रोजगारीका लागि खर्च गरिने उनले बताइन् ।

पारिश्रमिक दर दुई थरी
जिल्लाका सवै स्थानीय तहले रोजगारीमा आउनेहरुका लागि एकै विधिबाट पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेका छन् । जिल्ला दररेट अनुसार दक्ष जनशक्तिको लागि प्रतिदिन ९९० रुपैयाँ र अर्धदक्ष एवम् अदक्ष कामदारको लागि प्रतिदिन ७१५ रुपैयाँ भुत्तानी दिने व्यवस्था गरिएको छ ।

रोजगार संयोजकले राजीनामा दिएपछि कार्यक्रम अलपत्र
सुनकोशी गाउँपालिकामा भने रोजगार संयोजकले राजीनामा दिएपछि कार्यक्रम नै अन्योलमा परेको छ । एक महीनाअघि रोजगार संयोजकले राजीनामा दिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले नयाँ संयोजक पठाउन सम्बन्धित निकायमा लेखी पठाए पनि उचित व्यवस्था नहुँदा समस्या भएको जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा २४ लाख रुपैयाँ बजेट आएको र उक्त रकम अलपत्र पर्ने भएकाले चाँडै गाउँकार्यपालिकाको बैठक बसेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।